
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ ।
छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकाल्दै बैठकले बुधबारबाट प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय गरेको हो ।
समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा देखिएका गतिविधिको सम्बन्धमा छलफल भएको थियो ।
बुधबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सीसीटीभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो । रिपोर्ट स्पष्ट नबुझिएपछि अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । तर, विज्ञसँग छलफल गर्दा पनि फुटेजका धेरै क्लिपहरु स्पष्टसँग बुझ्न नसकिएको समितिका सदस्यहरुले जानकारी दिएका छन् ।
तर, एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको भने सीसीटीभी फुटेजमा देखिएको बुझिएको छ ।
छानबिन समितिले सुरुदेखि नै बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) राति अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरे÷नगरेको विषयमा छानबिन केन्द्रित गरेको थियो ।
छानबिनका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका दुवै सचिवसहित विभिन्न विभागका प्रमुख र कर्मचारीसँग बयान समेत लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्