९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


२० वर्षदेखि ताप्लेजुङका कुमार बिककाे आम्दानीको मुख्य स्रोत नै काठका सामाग्री


624
Shares

प्रकाश पाक्साँवा
तेह्रथुम । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका-५ का कुमार बिक बगी रहेको खोलाको किनार र थाक लगाई राखेको काठको मुढाहरुमा रमाइरहनुभएकाे छ ।

उहाँ मुढा र औजारहरुसँग खेली रहनुभएकाे छ । प्रत्येक दिनको उजेली र अँधेरी रातसँग पैठेजोरी गर्दै आउनुभएकाे छ । आफ्नो श्रममा रमाउँदै आउनुभएकाे छ । उहाँले केही थान झम्पाल र धारिलो छिनाहरुले काठ खोप्दै दैनिक रुपमा काम गरिरहनुभएकाे छ । परिवारको खुशीहरु मनभरी साँच्दै विगत २० वर्षदेखि काठसँगै सपना खोपी रहनुभएकाे छ ।

उहाँले यतिबेला तेह्रथुमको खोरुङवा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आउनुभएकाे छ । पछिल्लो समय काठको सामाग्री बनाउने चुँदारा पेशा लोप भई रहेका बेला बिकको भने आम्दानी मुख्य स्रोत नै बनेको हाे । खोलमा बग्दै गरेको पानीको सहयाेगले राले मोटर चलाउँदै काठ कुँदी रहनुभएकाे छ । बिककाे काठ कुद्ने कलामा निकै राम्राे छ ।

युवाहरु गाउँमा श्रम र मेहनत गर्न रुचाउँदैनन् । रोजगारको खोजीमा परदेशकाे भूमिमा पसिना बगाई रहँदा बिकले भने स्वदेशमा नै विदेशको जति नै आम्दानी गर्दै आएकोले आफ्नो पेशाबाट सन्तुष्टि भएको बताउनुहुन्छ । होटलहरुमा विशेष गरी तोङवा बिक्री हुने गरेकाे उहाँ बताउनुहुन्छ।

आकर्षक र राम्रा तोङवा तथा अन्य सामाग्री उत्पादन गर्दै आउनुभएका बिकले स्थानीय बजारसँगै ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङमा निर्यात गर्नुभएकाे छ । ग्राहकहरुले फोन मार्फत माग गर्ने गरेको र बजार अभाव नभएकाले परिवार पाल्न सहज भएको उहाँको भनाइ छ ।

बिकले काठबाट बन्ने विभिन्न प्रकारका सामाग्रीहरु बनाउँदै आउनुभएकाे छ । उहाँले तेल राख्ने चौथा, दूध जमाउने ठेंकी, तोङवा, हसिया राख्ने खुर्पेटा र अन्य सामान राख्ने आरी जस्ता समाग्री बनाउने गर्नुभएकाे छ । साेही कामले आमा-बुबा, ५ जना सन्तान र श्रीमतीगरि ९ जनााको परिवार पाल्नसक्ने बिकको गतिलो आम्दानीको मुख्य स्रोत नै बनेको छ ।