
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताउनुभएको हो । उहाँले सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनु भयो ।
मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवर्द्धन गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउनुभयो ।
मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले स्वस्थ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्