
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले फेवाताल वरिपरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरुको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् । यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराईयोस् । तालै तालको शहर पोखराको सुन्दरतालाई जोगाईयोस् । फेवातालको सिरानमा वाटर स्पोर्टस्का लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’
प्रतिक्रिया दिनुहोस्