
काठमाडौं । मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र हालसम्म किसानले रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत् जसपाले सरकारलाई सुख्खा प्रदेशको मागका साथै विभिन्न सात बुँदे ज्ञापन पत्र बुझाएको हो । किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिंचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिंचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ ।
जसपा नेपालको सर्लाही अध्यक्ष वीरेन्द्रकुमार रायसहितका नेताहरूले जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर प्रजिअ गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् । आधा साउन बित्न लाग्दा पनि सिंचाइको सुविधा नपुगेको सर्लाही र रौतहटको धान खेती हुन पाएको छैन ।
वर्षा नहुँदा किसानले धान खेती गर्न पाएका छैनन् । अहिलेसम्म वर्षा नहुँदा धानको रोपाइँ गर्न नसकेका किसानहरूले धानको उत्पादन निकै कम हुने सम्भावना रहेको बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्