२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुपर्छ: राष्ट्रपति भण्डारी


143
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुपर्ने बताउनुभएको छ ।

‘अन्तर्राष्ट्रिय कानूनको विकासमा शक्तिको भूमिका एशियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानूनको विकासमा ठोस योगदान गर्दै आएको पनि स्मरण गराउनुभयो ।

यही नीतिले विद्यमान अन्तर्राष्ट्रिय कानूनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको उल्लेख गर्नुभयाे। संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलताको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्व बन्धुत्वको भावना एवं अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानूनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको उहाँको भनाइ छ ।

भूपरिवेष्ठित मुलुकका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुन्द्रसम्बन्धि कानूनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको उहाँले बताउनुभयाे । उहाँले त्यस काममा नेपाललाई सहयोग गर्ने सबै मित्र राष्ट्रहरुप्रति आधार समेत व्यक्त गर्नुभयो ।

साेही उद्घाटन कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अन्तर्राष्ट्रिय कानूनले राष्ट्रहरुबीचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।न्यायाधीश प्रधानले राष्ट्रहरुबीचमा मानव अधिकारको प्रत्याभूति दिलाउन पनि अन्तर्राष्ट्रिय कानूनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।