
काठमाडौं । जिल्लाको तारकेश्वर नगरपालिका–२ पदमशालमा चार जना मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट भेटिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घटनामा केही पाना नोट फेला पारेको जानकारी दिएका छन् । ती अधिकारीले भने– ‘केही पाना नोट फेला परेको छ, अहिलेलाई यत्ति भनौं ।’
सोमबार बिहान गोरखाको भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएका परिवार नै मृत भेटिएका थिए ।
मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता,१३ वर्षीया छाेरी आशिका पाण्डे र ८ वर्षीय छाेरा आशिक पाण्डे छन् ।
प्रहरीले काठमाडौंको काभ्रेस्थलीमा मृत अवस्थामा भेटिएका चारजनामध्ये ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेश मैनालीले चारै जनाको शरीरमा धारिलो हतियार प्रयोग भएकाे जानकारी दिनुभयो । उहाँले पहिला श्रीमानले तीन जनाकाे हत्या गरेर आफूले आत्महत्या गरेकाे हुनसक्ने बताउनुभयाे ।
श्रीमती र छाेराछाेरीकाे शव एउटा काेठामा भेटिएकाे थियाे भने श्रीमानकाे शव अर्काे काेठामा पासाे लगाएकाे अवस्थामा फेला परेकाे थियाे । श्रीमान-श्रीमतीबीच यसअघि पटक-पटक विवाद भएर तीनपटकसम्म महानगरीय प्रहरी वृत्त, बालाजुमा पुगेकाे स्थानीयले बताएका छन् ।
यसैबीच श्रीमती सुनिता दुई दिनपछि युके जाने पक्का भएकाे थियाे । उनकाे भिसा र टिकटकाे काम सकिसकेकाे थियाे । उनी उड्नुअघिनै घटना हुनुले पनि परिवारभित्रकै व्यक्तिप्रति बढि आशंका रहेकाे प्रहरीकाे भनाइ छ । उनकाे शरीरमा मात्र ७ ठाउँमा धारिलाे हतियार प्रहार भएकाे छ ।
श्रीमान–श्रीमतीको विवाद र सम्पत्तिको कारणले घटना भएको हुनसक्ने स्थानीय बताउँछन् । श्रीमानले घर बेच्न खोजेपछि विवादले उग्र रूप लिएको थियो । कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलासा भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्