
एजेन्सी । रुस–युक्रेन युद्ध सुरु भएको १ सय ५९ दिनपछि पहिलो पटक खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाज छोडेको टर्की र युक्रेनी अधिकारीहरूले बताएका छन् । रूससँग ऐतिहासिक सम्झौता अन्तर्गत पहिलो पटक खाद्यान्न बोकेको जहाज छुटेको हो ।
यो सम्झौताले विश्वव्यापी खाद्य संकटलाई कम गर्ने र अन्नको मूल्य घटाउने आशा गरिएको छ । साथै युद्धका कारण क्षतविक्षत युक्रेनको अर्थतन्त्रमा केहि राहत पुग्ने विश्वास गरिएको छ ।
सिएरा लियोन–झण्डा भएको जहाज त्रिपोलीको बन्दरगाह पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आगामी हप्तामा थप ढुवानीको योजना गरिएको छ ।
रुसले फेब्रुअरीदेखि युक्रेनी बन्दरगाह नाकाबन्दी गर्दै आएको छ । यद्यपि केही साताअघि दुई देशका उच्च अधिकारीबीच दुवै पक्षले ढुवानी पुनः सुरु गर्ने सम्झौतामा सहमति भएको थियो । सम्झैता १ सय २० दिनका लागि भएको हो ।
जहाजले करिब २६ हजार टन मकै बोकेको र मंगलबार निरीक्षणका लागि टर्कीको जलक्षेत्रमा पुग्ने अपेक्षा गरिएको सम्झौता अन्तर्गत इस्तानबुलमा स्थापना गरिएको संयुक्त समन्वय केन्द्रले जनाएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जहाजको प्रस्थानलाई स्वागत गर्दै सम्झौता कार्यान्वयनमा टर्कीको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
खाद्यान्नहरू विश्व बजारमा जान सक्ने सुनिश्चित गर्नु मानवीय आवश्यक रहेको भन्दै उहाँले दुई देशबीचको खाद्यान्न ढुवानी सम्झौताले विशेष गरी विश्वव्यापी खाद्य सुरक्षामा राहत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्