
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरुवाचरुवा र कमलरीहरूको पुनस्र्थापनामा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ३०औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले पश्चिममा हलियाहरूको मुक्ति भए पनि पूर्वतिर हरुवाचरुवाहरूको मुक्ति अझै हुन नसकेको उल्लेख गर्नुभयो ।
त्यसैगरी कमलरीहरूलाई मुक्त गरेर सरकारले १२ कक्षासम्म अध्यापन गराए पनि त्यसपछि कमलरीहरू आफैँ पुनस्र्थापना हुन नसकेको बताउनुभयो । अध्यक्ष मगरले हरुवाचरुवा र कमलरीहरूको पुनस्र्थापनाका निम्ति सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले संविधान र कानूनले दिएको अधिकार, मानव अधिकार कार्यान्वयन हुन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो । उहाँले संवैधानिक निकायहरूले समेत कानूनको कार्यान्वयन गराउन नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा २८औं प्रकाश मानव अधिकार पुरस्कार २०७८ बाट राजुराम भुललाई पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्