२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बेसीशहर–चामे सडक बगायाे, मनाङ सडक सञ्जालबाट विच्छेद


819
Shares

काठमाडौं । निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ ।

बाढीपहिराले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा सडक बगाएपछि सोमबार विहानैदेखि बेसीशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो ।

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उहाँले बताउनुभयो । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताउनुभयो । सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।