१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशमा गौरवका आयोजना अलपत्र


91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ ।

पाँच वर्ष बितेपनि लुम्बिनी प्रदेशकाे गौरवकाे आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयको गुनासो छ ।

चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा, चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिेनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीको भनाइ छ । लुम्बिनी प्रदेश सरकारको गौरवकाे आयोजना अन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गरेपनि अहिले सो सडक अलपत्र बनेको छ ।

काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी बिकले बताउनुभयो । उहाँले वर्षेनी ढुङ्गगासहितको पहिरोले जनधनको क्षति व्यहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भएपनि ५ वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको बताउनुभयो ।

सडक पूर्वाधार कार्यलय पाल्पाकाअनुसार सडक निर्माणको क्रममा कमजोर भू-भागको आंकलन नगरिदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले चुरे क्षेत्र भएका कारण पहिरोको समस्या बढ्दै गएकाले समयमै काम सम्पन्न गर्न समस्या भएको बताउनुभयो ।

भूगोलको विषयमा सम्भाव्यता अध्यनबिना चुरे पहाडमा निर्माण थालिनु र मेसिनको प्रयोग हुनु जस्ता कारणले सरकारको लगानीले सार्थकता पाउनसक्ने अवस्था कम रहेको स्थानीयको गुनासो छ । चुरे आफैँमा कमजोर पहाड भएकोले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वनजंगल मात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ ।

साेही खण्डको करिब १० किलोमिटर कमजोर भू-भागका कारण पहिरोको उच्च जोखिम रहेकाे छ ।