१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्णायक आन्दोलनको चेतावनी अनेरास्ववियुद्वारा इन्धनको मूल्य घटाउन माग

सरकार राजश्व उठाउन तथा निगम कर्मचारीलाई बोनस र भत्ता बाँड्न व्यस्त रहेको आरोप

286
Shares

काठमाडौैं । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

मंगलबार युनियनकी अध्यक्ष सुनिता बरालले प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट पछिल्लो दुईपटक गरेर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा, डिजेलमा २९ रुपैयाँ १० पैसा र एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिन्डर घटेर आए पनि नेपाल आयल निगमले घाटाको बहाना बनाएर मूल्य नघटाएको आरोप लगाउनुभयाे ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको युनियनको निष्कर्ष छ । निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखेको उसको आरोप छ ।

इन्धनको मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन भइरहेको, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको भन्दै युनियनले देशमा राज्य छ कि छैन भन्दै प्रश्न गरेको छ ।

मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएर सरकारले राजश्व थुपारेको, आयल निगमले कर्मचारीलाई बोनस र भत्ता बाँडेको उसको भनाइ छ ।

युनियनले इन्धनको मूल्य तत्काल घटाउन निगमलाई आग्रह गर्र्दै अटेर गरे स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।