१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


195
Shares

बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख रुपैयाँको बजेटबाट प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने विश्वास लिइएको छ ।

कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याइएकोमा ठेकेदार कम्पनीको लापरवाहीले प्लान्ट स्थापनाको काममा ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्लान्ट स्थापना भएसंगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

प्लान्ट जडान गरेर सञ्चालनमा आएसँगै कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने उहाँले बताउनुभयो । पहिलो, दोस्रो र तेस्रो लहरको कोरोनामा अक्सिजन अभावमा धेरै बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको थियो ।

प्लान्टले ५० शय्या भएको अस्पताललाई अक्सिजन आपूर्ति गर्नसक्ने बैतडी अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले बताउनुभयो । कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सहज भएको उहाँको भनाइ छ ।

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।