
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।
सप्तकोसीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यादवले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको बताउनुभयो ।
सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछी खतरा मानिन्छ ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।
कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानिय शिक्षक सन्तोष चन्द्रबंसीले बताउनुभयो ।
उहाँले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्विसाधारणको अबस्था सहज बनाइदिन सरकारसँग माग गर्नुभयो ।
सप्तकोसीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
उहाँले कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोर सहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अबस्थामा राखिएको जानकारी दिनुभयो ।
यादवले कोसी आसपासका जनतालाई बाढी आएको समयमा उच्च सर्तकता अपनाउन आग्रह गनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्