१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनस्वास्थ्यमा खेलवाड गर्ने ११५ उद्योग, फर्म र व्यापारीविरुद्ध मुद्दा दायर

बजारबाट संकलित २३३ नमूना मापदण्ड प्रतिकुल भएको पुष्टि

481
Shares

काठमाडौं । सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरूविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमूनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरीत पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको बताएको हो ।

पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना दुषित देखिएको बताउनुभयो । उहाँले खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा नमूनाको परीक्षण प्रतिकुल पाइएको बताउनुभयो ।

यस्तै, तेल तथा घ्यूजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको थियो ।

प्रवक्ता महर्जनले दुषित खाद्य पदार्थ बेचेको अभियोगमा १ सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा रहेको बताउनुभयो । उहाँले दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्धा दायर गरिएको बताउनुभयो ।

त्यस्तै, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्युजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ ।

गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । विभागले तत्काल सम्बोधन टोलीअर्थात ¥यापिट रेस्पोन्स टिममाफत कारबाही लगायत ८ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो ।

विभागले गत वर्ष ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्ट समेत अनुगमन गरेको थियो ।