२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्य प्रशिक्षक थापाद्वारा साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडी छनोट


143
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडी छनोट गरेका छन् ।

नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा जारी प्रशिक्षणबाट प्रशिक्षक थापाले २३ खेलाडीलाई हटाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल खेल्ने तालिका रहेको छ । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ ।

नेपालसँगै समूह ‘बी’मा भुटान र श्रीलंका छन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको पाँचांै संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।

नेपालले पाँचमध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै आएको छ । भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ । उता बंगलादेश चौथो संस्करणको उपविजेता हो ।