
हेटौंडा । मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।
मंगलबार प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगमा जडान भएका उपकरणहरुको प्रारम्भिक परीक्षण गरिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो ।
करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रमको दुई चरणगरि १ करोड ७१ लाख र सहकारी संघको करिब ३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको संघका व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो ।
पूर्ण तयारी भएपछि मेशिन एक सिफ्टमा १० हजार दूधको विभिन्न परिकार बनाउन सक्ने क्षमता उद्योगको हुने उहाँले बताउनुभयो । संघमा जिल्लाका ६० वटा सहकारी संस्था अवरुद्ध रहेका छन् । संघले दैनिक ४० हजार लिटर दूध खरिद बिक्रीका लागि सहजीकरण गर्दै आइरहेको छ ।
उद्योगमा मंगलबार खुवा, प्रशोधित दूध र दही तयार हुने मेशिनको परीक्षण गरिएको थियो । उद्योगले आइसक्रिम, पनिर,घ्यूँ, बटर (नौनी) र जिरा मोही पनि उत्पादन गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । उक्त उद्योग पूर्णरुपमा अब ६ महिनाभित्र सञ्चालनमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्