
काठमाडौं । दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन भएको छ ।
राष्ट्रिय क्रिकेट टोलीमा गुट-उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए । उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ ।
नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षणको कार्यकाल पनि अस्थिर हुन थालेको हो । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको थियो । तर, पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो ।
टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धि निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट-उपगुट भएको संकेत गरेका थिए ।
पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । प्रशिक्षक नियुक्तिका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको उनकाे भनाइ छ ।
प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन छ ।
अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एक दिवसीय मान्यता धरापमा पर्न थालेको छ । खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ ।
कुनै समय साख बटुलेको नेपाली क्रिकेटलाई अहिले जोगाउन मुस्किल देखिन थालेको छ । यी सबै समस्या समाधान गर्न नयाँ र विगतका भन्दा माथिल्लो स्तरका प्रशिक्षकबाट सम्भव हुने देखिएको छ ।
नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्नसक्ने प्रशिक्षक आवश्यक भएको पूर्व क्रिकेटर पवन अग्रवाल बताउँछन् । उनले भाषा मिल्ने प्रशिक्षक आवश्यक रहेको बताउँदै भारत, श्रीलंका, पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने बताए ।
अहिले नेपाली क्रिकेटमा भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीलाई प्रशिक्षणमा कठिन भएको उनको भनाइ छ । पूर्व प्रशिक्षक दाशानायकेले आफ्नो दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा दिलाउन नसकेको अग्रवाल बताउँछन् ।
विशेष गरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैँ आलोचना हुँदै आएको छ । केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ ।
अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो । सँगै पुबुदुले सांकेतिक रूपमा टोलीभित्र देखाएको गुट-उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ । यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धरासायी हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्