
काठमाडौं । चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा आकाश सुरक्षा क्षेत्रमै प्रवेश गरेर सैन्य अभ्यास गर्ने भएको हो ।
चीनका २७ वटा युद्धक विमान बुधबार नै ताइवानी सुरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।
चीनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको सैन्य अभ्यास हुने क्षेत्रमा ताइवानको उडान क्षेत्र अर्थात १२ एरोनटिकल माइलको क्षेत्र पनि परेको छ ।
यस्तै, चीनले विश्वको सवैभन्दा ब्यस्त जलक्षेत्रमा लामो दूरीका खरखजानाको प्रत्यक्ष प्रहार गर्दै सैन्य अभ्यास हुने बताइसकेको छ ।
ताइवानले पानीजहाजहरुलाई उक्त वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ भने उडान रुटबाट पनि जापान र फिलिपिन्ससँग छलफल गरिरहेको छ । ताइवानी राष्ट्रपति थाइ इङ वेनले देशले उच्च खालको सैन्य धम्कीको सामना गर्नुपर्ने बताउनुभएको छ ।
उता, जी सेभेनमा आवद्ध देशहरु अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटली र जापानले चीनको सैन्य अभ्यासले त्यस क्षेत्रमा अस्थिरता निम्त्याउने भन्दै विज्ञप्ति जारी गरेका छन् ।
अमेरिकी सभामुखको भ्रमणबाट उत्तेजित भएर सैनिक धम्कीमा उत्रिनु आवश्यक नभएको ती देशहरुको भनाइ छ । तर, चीनले भने अमेरिकाले बारम्बार आफ्नो सार्वभौमिकताको अपमान गरेको भन्दै आगोसँग नखेल्न चेतावनी दिईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्