१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैदी, थुनुवा, कर्मचारी र सुरक्षाकर्मीले पनि मतदान गर्न पाउने

‘उम्मेदवारी दिएपछि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको पदावधि स्वतः सकिन्छ’

1.456k
Shares

काठमाडौं । निर्वाचन आयोगले कैदी, थुनुवा कर्मचारी र सुरक्षाकर्मीहरूलाई पनि मतदानको व्यवस्था गर्ने भएको छ ।

आयोगद्वारा बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको परमादेशलाई मध्यनजर गर्दै मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदानको व्यवस्था गर्ने बताउनुभयो ।

थपलियाले भन्नुभयो, ‘निर्वाचनको काममा खटिएका कर्मचारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्वीकृतप्राप्त वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र थुनुवा तथा कैदीहरूलाई अस्थायी मतदाता नामावली तयार गरेर भए पनि समानुपातिक तर्फ मतदान गर्न दिनुपर्ने व्यवस्थालाई आयोगले गम्भीर रूपमा लिएको छ ।’

सर्वोच्चको परमादेश र मतदाताबाट माग भएको यो विषयलाई आयोग व्यवस्थापनको प्रक्रियामा रहेको थपलियाले बताउनुभयो ।
‘सम्भवतः यो निर्वाचनबाट त्यो माग पूरा हुन्छ,’ उहाँले थप्नुभयो, ‘हामी यसलाई व्यवस्थापन गर्ने प्रक्रियामा छौं ।’

यस्तै, आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको कार्यावधि उम्मेदवारी घोषणाको दिनसम्म रहने पनि जनाएको छ । प्रमुख आयुक्त थपलियाले मंसिर २१ गतेसम्म सदस्यहरूको कार्यकाल भए पनि उम्मेदवारी दिएपछि सकिने स्पष्ट पार्नुभयो ।

आयोगले दशैंपछि उम्मेदवारी दर्ताको कार्यतालिका राख्ने उहाँको भनाइ छ । बुधबारसम्म प्राप्त तथ्याङ्कअनुसार देशभर १ करोड ८६ लाख मतदाता रहेको आयोगले जनाएको छ । स्थानीय निर्वाचनको भन्दा यसपटक १० लाख मतदाता थपिएको आयोगको भनाइ छ ।