
काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ताइवानी सीमानामा तनाव बढाएर संकट निम्त्याउने काम नगर्न चीनलाई चेतावनी दिनुभएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलाेसीको ताइवान भ्रमणलगत्तै ताइवानलाई घेरा हालेर सैन्य अभ्यास गरिरहेको चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिंकेनले यो भन्दा बढी तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो । दक्षिण पूर्वी एशियाली देशहरुको कम्बोडियामा आयोजित मन्त्री स्तरीय बैठकमा बोल्दै ब्लिंकेनले तनावले चीनसहित त्यस क्षेत्रका कसैको पनि हित नगर्ने उहाँकाे तर्क छ ।
अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको भन्दै उहाँले सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि पनि उक्त धारणामा परिवर्तन नभएको प्रष्ट पार्नुभयो । अमेरिका शान्ति, स्थिरता र क्षेत्रीय सन्तुलनको पक्षमा रहेको भन्दै विदेशमन्त्री ब्लिंकेनले आक्रामक सैन्य गतिविधि गर्नुपर्ने गरी केही नभएकाे बताउनुभयाे ।
उता, अमेरिकी रक्षा मन्त्रालयले पनि अमेरिका चीनसँग तनाव बढाउने पक्षमा नरहेको बताएको छ । चीनले बिहिबारदेखि ताइवान आसपासको क्षेत्र जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास गरिरहेको छ । यो अभ्यास आगामी आइतबारसम्म चल्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्