१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राहदानी विभागले मध्यरात १२ बजेकाे ‘भेट समय’ दिएपछि…


8.58k
Shares

काठमाडौं । नेपालका सरकारी विभागहरू सामान्यतया १० बजेदेखि ५ बजेसम्म खुल्छन् । अत्यावश्यक र सेवाग्राहीको धेरै भीड लाग्ने विभागहरूले भने १ घण्टा अगाडि सेवा प्रवाह गर्ने गरेका छन् ।

राहदानी विभाग सधैंझैं सेवाग्राहीको भीड लाग्ने विभाग हो । राहदानी लिनका लागि जिल्ला प्रशासन विभागबाट सकिने भए पनि छिटो राहदानी चाहिने सेवाग्राहीहरू त्रिपुरेश्वरस्थित विभाग नै आउने गरेका छन् ।

विभागले पछिल्लो सयम अनलाइनमार्फत समय तोकेर वा अप्वाइन्टमेन्ट लिएर मात्र सेवाग्राही बोलाउने गरेको छ । तर, सेवाग्राही तोकिएको समय अगावै विभागमा आउँदा भीड हुने गरेको विभाग प्रशासन बताउँछ ।

यस्तैमा, अनलाइनबाट भेट समय दिने गरेको विभागले मध्यरातिको भेट समय सेवाग्राहीलाई दिँदा सेवाग्राही अन्योलमा परेका छन् । राहदानीको लागि डकुमेन्ट बुझाउन अनलाइनमार्फत भेट समय मागेका सेवाग्राहीलाई सिस्टमले राति १२ बजेदेखिको समय पठाएपछि उनीहरू हैरान भएका हुन् ।

विभागले भने सर्भरमा देखिएको समस्याका कारण यस्तो भएको जनाएको छ । विभागका प्रवक्ता डा.डमरुवल्लभ पौडेलले सर्भरमा देखिएको प्राविधि त्रुटीले साउन २२ गते आइतबारको लागि अध्याधिक मात्रामा भेट समय खुल्न गएको बताउनुभयो ।

आइतबारका लागि सर्भरले सेवाग्राहीलाई १५ घण्टाको लागि भेट समय दिएको थियो । राति १२ बजेदेखि दिउँसो साढे २ बजेसम्मको भेट समय सर्भरले दिएपछि आफूहरू पनि अचम्ममा परेको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसलाई व्यवस्थापन गर्नका लागि पौडेलले एक सूचना जारी गर्दै तीन दिनमा काम सक्नेगरी भेट्न आउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ । सूचनाअनुसार राति १२ बजेदेखि विहान साढे ४ बजेसम्मको भेट समय दिएका सेवाग्राहीलाई आइतबार विभागमा बोलाइएको छ ।

यस्तै, विहान ५ बजेदेखि विहान साढे ९ बजेसम्मको भेट समय दिएका सेवाग्राहीलाई सोमबार र १० बजेदेखि साढे २ बजेसम्मको भेट समय भएका सेवाग्राहीले मंगलबार विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ ।