
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
लगातारको वर्षातका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ति बालिएको छ ।
सप्तकोसीमा शनिबार ४ः५० बजे पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उहाँले बताउनुभयो । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका वासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
सप्तकोसीले पश्चिम तर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुवानमा परेको छ । यस क्षेत्र अझै डुवानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्