
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ ।
काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमार्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले संवदेनशील क्षेत्र वरिपरि बजाइने हर्नको असर नराम्रो पर्ने भन्दै यो अभियान सार्थक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रमका क्रममा प्रमुख चौधरी र मेयर साहले सिंहदरबार अगाडिको सडकमा गुडिरहेका सवारी साधनमा स्टीकर टाँस्नु भएको थियो ।
नो हर्न स्टिकर अभियानका लागि पद्य्मकन्या क्याम्पसका सय जना छात्रालाई स्वयम्सेवकको रुपमा परिचालन गरिएको छ ।

महानगरले यसअघि पनि अनावश्यक रुपमा हर्न बजाउनेहरुका लागि सुरूमा ५ सय रुपैयाँ दोश्रो पटक १ हजार र पटकेमा परे १५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।
काठमाडौं महानगरपालिकाले वि.सं. २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्