२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ठूला सहकारी संस्था समस्यामा: निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढ्याे

५ प्रतिशत बढी बचत एकै पटकमा भुक्तानी नगर्न अपील

1.261k
Shares

काठमाडौं । ठूला सहकारी संस्थाहरु नै समस्यामा पर्न थालेपछि सर्वसाधारण निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढेको छ ।

निक्षेप निकाल्दा थप समस्या निम्तिने भएपछि सहकारीहरु सम्वद्ध विभिन्न संगठनहरुले एक पटकमा निक्षेपको ५ प्रतिशत भन्दा बढी बचत भुक्तानी नगर्न आग्रह गरेको छ । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लगायतका संघहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुले सदस्यहरुको कुल बचतको ५ प्रतिशत भन्दा बढी बचत एकै पटकमा भुक्तानी नगर्न अपील गरेको हो ।

ऐच्छिक साधारण एवंम कारोबार बचतहरुको भुक्तानी गर्दा सदस्यहरुलाई साप्ताहिक र मासिक वा आपसी सहमतिमा बचत रकमको एक पटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन अ‍पिल गरिएको छ । बचत एकै पटक माग गर्दा संस्थाको भुक्तानी प्रकृया असन्तुलन हुने भन्दै संगठनहरुले यस्तो अपील गरेका हुन् ।

त्यस्तै सेयर पूँजी निश्चित अवधिपछि एकमुष्ट भुक्तानी लिने गरी राखिएको मुद्दति बचत र क्रमिक बचतको रकम अवधि समाप्त हुनु अगावै सकेसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउन पनि सहकारी अभियानको आग्रह छ । त्यस्तै, सहकारीहरुलाई भाखा नाघेको ऋण पनि तत्काल उठाउन अपील गरेको छ ।

पछिलो समय सबै क्षेत्रमा तरलताको संकट कायमै रहेकोले त्यसको समधानका लागि अशुल गर्नुपर्ने कर्जामा बढी ध्यान दिन आग्रह गरिएको छ । घर जग्गाको क्षेत्रमा अन्धाधुन्ध लगानी गरेका सहकारी संस्थाहरु पछिल्लो समय समस्यामा पर्दै गएका छन् ।