
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १ । मुलुकमा शुक्रबारदेखि लागू भएको मुलुकी देवानी र फौजदारी संहिताहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।
प्रदेश नम्बर–७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नयाँ कानुन लागू भएको अवसरमा शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा नयाँ कानुनको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो ।
कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले लागू भएको नयाँ कानुन समाज रुपान्तरणका लागि महत्वपूर्ण हुने बताए ।
उनले कानुन आफैं चलायमान नहुने भन्दै यसलाई चलायमान बनाउनुपर्ने उल्लेख गरे ।
कानुनको कार्यान्वयन पक्ष महत्वपूर्ण भएको बताउँदै मुख्यमन्त्री भट्टले कार्यान्वयन गर्ने सवालमा कोही विभक्त हुन नहुने बताए ।
उनले समृद्धिका लागि मार्गनिर्देशन, कानुनको प्रत्याभूत गराउन र समाज रुपान्तरणका लागि नयाँ कानुन महत्वपूर्ण हुने जिकिर गरे ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो ।
राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि मुलुकी ऐन प्रतिस्थापन भएको छ । यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो ।
मुलुकी ऐनअन्तर्गत्का विभिन्न १३ ओटा ऐन खारेज गरेर अब मुलुकी देवानी र फौजदारी संहिताअन्तर्गत्का पाँचओटा संहिता लागू भएको हो ।
प्रतिक्रिया दिनुहोस्