३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


प्रतिनिधि र प्रदेशसभा सांसदको कार्यकाल सकिसक्यो : सांसद देवकोटा

‘कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यकाेषकाे दोहन नगरौं’

611
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भएको बताउनुभयो । उहाँले कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गर्नुभयो ।

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताउनुभयो ।

सांसद देवकोटाले निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालिन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानून नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभा सदस्य देवकोटाले राजनीतिलाई दुहुनो गाई ठान्ने घातक प्रवृत्ति रहेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको अन्त्यका लागि लगातार दुई पटक निर्वाचनमा विजयी भएकाहरुलाई तेस्रो पटक टिकट नदिन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।