
काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन घोषणापछि ४० करोड रुपैयाँ खान खोजिएको आरोप लगाउनुभएको छ ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ भइसकेको तथा प्रदेश र प्रतिनिधिसभाका सांसदलाई तीन महिना तलब तथा भत्ता दिएर ४० करोड रुपैयाँ व्यर्थ खर्च गर्न खोजिएको आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रेपलाञ्चोक जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै लामिछानेले आगामी तीन महिनामा प्रदेशसभा र प्रतिनिधिसभाका सांसदले निर्वाचन प्रचारबाहेकको केही पनि काम नगर्ने भएकाले तलव भत्ता लिन नहुने बताउनुभयो ।
तीन महिनामा ८ सय २५ सांसदले पाउने तलबभत्ताले देशका कयौं स्थानमा बर्थिङ सेन्टर र दुर्गममा अस्पताल बनाउन सकिने लामिछानेले बताउनुभयो । निर्वाचन घोषणापछि पनि ४० करोड भन्दा बढी रकम किन पचाउन खोजिँदैछ भनेर प्रश्नसमेत गर्नुभयो । आफूहरूले देशको ढुकुटीका कहिल्यै र्याल नचु्हाउने उहाँको भनाइ छ ।
गठबन्धनमा आवद्ध दलतर्फ संकेत गर्दै सभापति लामिछानेले जसरी पनि चुनाव जित्न जाल झेल गरिएको आरोप लगाउनुभयो । विचारै नमिले पनि दलहरूले एकअर्कासँग बसेर साँगगाँठ गरिरहेको उहाँको आरोप छ ।
देश परिवर्तनका लागि प्रमुख दलका प्रमुख नेताको ठूलो योगदान भए पनि अब भने विश्राम लिन उहाँले सुझाव दिनुभयो ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जागीर खाएका कर्मचारी रिटायर्ड भइसकेको भन्दै लामिछानेले देउवा अहिले पनि प्रधानमन्त्री रहिरहेको बताउनुभयो । पटक–पटक प्रधानमन्त्री हुँदा जनताको अवस्थामा परिवर्तन नआएको उहाँको भनाइ छ ।
राजनीतिबाहेक अन्य विषयमा क्षमता र दक्षता नभएपछि शीर्ष नेताहरूले आर्यघाटबाटै राजनीतिक विश्राम लिन खोजेको लामिछानेले आरोप लगाउनुभयो ।
‘तपाईंहाम्रा लागि त गर्नका लागि धेरै काम छ, संघर्ष गर्छौ गर्न जानेका छौं, तर राजनीतिक दलका प्रमुख नेताहरू राजनीतिबाट विदा भए भने के गरेर खान्छन् होला ? के जानेका छन् ? केहि पनि छैन,’ उहाँले भन्नुभयो, ‘सायद त्यहि भएर होला अन्तिम सम्म पनि राजनीतिको यो लाभ लिनका लागि झुण्रिहनुभएको छ ।’
प्रतिक्रिया दिनुहोस्