२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिकै पार्किङ गरिएका फोहोर बोक्ने गाडीहरू तोडफोड

'फोहोर विसर्जनको काम पुनः अवरुद्ध हुने'

286
Shares

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर लिएर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ ।

धादिङ र नुवाकोटको सिमाना नजिकै कोल्पुखोलामा पार्किङमा राखिएको फोहोरका १४ वटा टिपरमा सोमबार राति तोडफोड भएको हो ।

केही समयदेखि फोहोर फाल्न नदिन निहुँ खोज्दै आएको समूहले गाडी तोडफोड गरेको महानगरपालिकाले आशंका गरेको छ ।

१४ वटा फोहोर बोक्ने टिपर, दुई वटा डोजर र एउटा स्काभेटरमा तोडफोड गरिएको हो । तोडफोड गरिएका गाडीहरु फोहोर मैला व्यवस्थापन गर्ने निजी कम्पनीमा भएको पनि महानगरपालिकाले जनाएको छ ।

तोडफोड भएको स्थान नजिकै सशस्त्र प्रहरीको युनिट रहे पनि प्रहरी तोडफोड भएको तीन घण्टापछि राति १२ बजे बल्ल घटनास्थल पुगेको थियो । गाडीहरू तोडफोड भएपछि टिपर चालकहरूले आज बिहान नाराबाजी गरेका छन् ।

काठमाडौं महानगरले सिसडोलको सडक मर्मत गरेपछि फोहोर उठाउन थालेकोमा गाडीहरू तोडफोड भएपछि पुनः फोहोर उठाने काम रोकिने भएको छ ।