
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बाेल्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । उहाँले यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानूनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्नुभयाे । निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानून परिमार्जन गर्ने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले नेपालको कानूनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानूनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले सन् २०३० सम्ममा संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयाे । सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरु पनि प्रतिवद्ध हुनुपर्ने उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्