२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी गर्न सांसद अगरियाको माग


78
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद अगरियाले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

‘नेपालको न्याय क्षेत्रमा न्यायाधीश नियुक्ति समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानअनुसार भएको देखिँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम र पिछडिएको समुदायलाई समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्नका लागि सभामुख महोदयमार्फत सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद अरगरियाले समानुपातिक प्रतिनिधित्व हुने गरी मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम र पिछडिएका समुदायलाई न्यायाधीश बनाउने काम हुन नसकेको गुनासोसमेत गर्नुभयो ।