
काठमाडौं । नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानून मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
त्यस्तै दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
सांसद पाण्डेले संघीय संसद र प्रदेशसभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै स्थानीय तहका प्रमुख, अध्यक्ष, उप–प्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उप–प्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उहाँको जोड छ ।
सांसद पाण्डेले मंसिरमा हुने निर्वाचन अगावै निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गरेर सो प्रावधानहरू लागू गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्