१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नर्भिक अस्पताल संरचना प्रकरण : प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति


247
Shares

काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।

मेयर साहले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनुभयो ।

अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा आफूहरूलाई समस्या नभएको भन्दै उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेर अझै दिए पनि केही फरक नपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रूपमा पालना गरेको दाबी गर्नुभयो । उहाँले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउनुभयो ।

नर्भिक अस्पतालले आफूले कानूनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ ।

अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।