
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्याङ्कन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भूमिकाको पनि कदर हुनुपर्ने बताउनुभयो ।
उहाँले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताउनुभयो ।
सांसद पाण्डेले सिट बाँडफाँटका बारेमा शुरुमा धेरै वहस भए पनि निस्कर्ष सहजै निस्किने दाबी गर्नुभयो । उहाँले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने बताउनुभयो ।
पाण्डेले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसावले पार्टी आगामी निर्वाचनमा होमिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्