१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


प्रतिनिधिसभा शून्य समयमा बाढीको कहरदेखि राष्ट्रपतिको रहरसम्मका कुरा


416
Shares

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले गएरातिको बाढीका कारण देशभर आएको बाढीपहिरो पीडितलार्ई पुनर्स्थापना गर्नदेखि राष्ट्रपतिलाई नागरिकता विधेयक छिटो प्रमाणिकरण गर्न आग्रह गरेका छन् ।

बैठकमा सांसद नविना लामाले गएराति मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुर्नस्थापना गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउनुभयो । नागरिकता विधेयक संसदकाे दुवै सदनबाट पारित भएर अहिले राष्ट्रपतिकाे कार्यालयमा अड्किएकाे छ । राष्ट्रपतिले उक्त विधेयक प्रमाणिकरण गर्ने वा पुनः संसदमै फर्काइदिने भन्ने विषय राष्ट्रपतिको नितान्त व्यक्तिगत विषय हो ।

सांसद दुर्गा पौडेलले देशमा आत्महत्याको घटना श्रृङ्खलावद्ध किसिमले बढ्दै जानु गम्भीर समस्या भएको भन्दै त्यसको कारण पत्ता लगाएर घटनाहरू रोक्न उचित कदम चाल्न आग्रह गर्नुभयो ।

सांसद तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै गुणस्तरीय शिक्षा लिन नपाएको तथा बालबालिका कुपोषणको सिकार भइराखेका अवस्थाबारे ध्यानाकर्षण गराउनुभयो । कक्षा एकमा भर्नादेखि एसइई परीक्षासम्म ६ लाख विद्यार्थी हराइरहेको उहाँको भनाइ छ ।

सांसद दुर्गबहादुर राउतले जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते भएका कतिपय व्यक्तिहरू तथा शहीद परिवारले अझै पनि राज्यले दिने भनेको जीवन निर्वाह भत्ता नपाएको गुनासो गर्नुभयो ।
सांसद दुर्गाकुमारी विश्वकर्माले सीमाबाट तरकारी तथा फलफूल ल्याउँदा विषादी जाँच गर्ने मेसिन कुन अवस्थामा छ भनि प्रश्न गर्नुभयो । उहाँले विषादी जाँच गरेर मात्रै तरकारी तथा फलफूल नेपाल भित्र्याउने व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद देवप्रसाद गुरुङले सरकारले तत्काल निर्वाचन सम्बन्धी ऐन ल्याउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा वहश उठेको भन्दै प्रतिनिधिसभाको कार्यअवधिको सम्बन्धमा पनि ऐन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सांसद निरुदेवी पालले केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा सुरु गरेका विकास निर्माणका कामहरू सबै रोकिएको भन्दै विकास निर्माणको कामहरू तत्काल अघि बढाउन माग गर्नुभयो ।
सांसद पवित्रा निरौला खरेलले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गर्न माग गर्नुभयो ।
अर्की सांसद पार्वतीकुमारी विशुन्केले हरुवाचरुवाको पुनर्स्थापनाको प्याकेज घोषणा गर्न माग गर्नुभयो ।
सांसद पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालले मैथिली र भोजपुरी भाषाको कार्यक्रम केन्द्रिय प्रशारणबाट हटाएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद प्रकाश रसाइली स्नेहीले त्रिभूवन विश्वविद्यालयले प्रश्नपत्र दोहो¥याएको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरको भन्दै त्रिविको उपकुलपति र रजिष्ट्रारलाई कारबाही गर्न माग गर्नुभयो ।
सांसद प्रेम सुवालले निर्वाचनमा गठबन्धन गर्ने दलहरूलाई एउटै घोषणापत्र जारी गराउने र निर्वाचन चिन्ह पनि एउटै पाउने व्यवस्थाको लागि निर्देशन हुनुपर्ने बताउनुभयो ।
उहाँले जनताको सुरक्षाका लागि उपत्यकाका आवास क्षेत्रहरूमा बाह्र तथा चौध पाङ्ग्रे भारी गाडीहरू तत्काल बन्द गर्नुपर्ने बताउनुभयो ।