१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृषिमा पर्याप्त लगानी भएन : कृषिमन्त्री यादव


104
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताउनुभएको छ ।

खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यक्तालाई परिपूर्ति गर्न नसक्ने बताउनुभयो ।

मन्त्री यादवले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश्रित रहेपनि सरकारले कृषि क्षेत्रको प्रवर्द्धन र विकासका लागि आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले किसानहरूले प्राङ्गारिक मलमा जोड दिनुपर्ने ठाउँमा रासायनिक मलमा जोड दिइरहेको बताउनुभयो ।

मन्त्री यादवले किसानले प्राङ्गारिक मलमा जोड दिएर रासायनिक मलको प्रयोग कम गर्नुपर्ने बताउनुभयाे ।

खाद्यका लागि कृषि अभियानले संविधानले व्यवस्था गरेबमोजिम नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कुरामा खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ आउनु अनिवार्य रहेको र ऐनमा भएका कतिपय व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा नियमावली नहुँदा अफ्ठ्यारो भइरहेको भन्दै नियमावली तत्काल लागू गर्न माग गरेको छ ।

त्यस्तै, प्राङ्गारिक कृषि प्रवर्द्धन आधारपत्रअनुसार प्राङ्गारिक कृषिको विकास गर्ने हेतुले प्राङ्गारिक उच्चस्तरीय आयोगले सिफारिस गरेका सुझावलाई मनन गरेर आवश्यक नीति बनाउन ध्यानाकर्षण गराएको छ ।