मृत्युलाई नजिकबाट नियालेका नेपाली चिकित्सकको अमेरिकी अनुभव

news

नारायणी लामिछाने

आफ्नै आँखा अगाडि कोभिड–१९ संक्रमणबाट तीन जना बिरामीको अनायास मृत्यु भएको दृश्य अहिले पनि डा. रामु खरेलको मानसपलटमा फनफनी घुम्छ । सहकर्मीको दुःखद् मृत्युले पीडा दिइरहेको बेला आफूले उपचार गरिरहेका बिरामीको मृत्युले उनलाई झनै छटपटी भयो । कोरोनाका कारण मृत्यु भएकालाई परिवारले छुन र देख्न समेत नपाउने परिस्थिति रह्यो । ‘मैले मृतकको परिवारलाई फोन गरेर दुखद् खबर सुनाउनु प¥यो’ निकै भावुक हुँदै खरेलले सुनाए ।

कोरोना महामारीको हट स्पट बनेको अमेरिकास्थित जर्जिया स्टेटको एटलान्टा अस्पतालको आकस्मिक वार्डमा कार्यरत खरेल करिब दुई महिनाअघिको पीडादायी क्षणहरु सम्झेर कर्तब्यबाट भने भागेका छैनन् । अहिले पनि दिनहुँ ५/६ जना कोरोना संक्रमितको उपचारमा जोडिन्छन् ।

‘शुरुका दिनमा अस्पताल प्रशासनले वास्ता नगर्ला कि भन्ने चिन्ता थियो, तर उपचारमा अत्यावश्यक सामग्री जुटाइदिएपछि कोरोना संक्रमितको उपचारमा संलग्न हुन सहज भयो’ उनले हामीसँग भने ।

गुल्मीको आँपचौरमा जन्मेर अमेरिकाको प्रतिष्ठित अस्पतालमा चिकित्सकीय सेवामा डटिरहका डा. खरेलको परिवार टेक्सासमा बस्छन्, उनी भने जर्जिया  स्टेटमा ।

कोरोना संक्रमणको महाव्याधीको बेला निडरतापूर्वक भोक–निन्द्रा नभनी २४ सै घण्टा सेवामा जुटनु पर्ने दायित्व चिकित्सकमा रहेको ठान्छन्, उनी । 

तर, विडम्बना महाशक्ति राष्ट्र अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि चिकित्सकले सेवा दिन चाहेर पनि अस्पतालमा उपचार गर्ने स्थानको अभाव छ । ‘तसर्थ आपत्कालिन अवस्थाबाहेक घरमै बसेर स्वास्थ्यलाभ गर्न सुझाव दिन थालिएको छ’ डा. खरेल अमेरिकी अनुभव सुनाउँछन । र, नेपालमा पनि यही तरिका अपनाउन सके कोरोना संक्रमण नफैलने उनको विश्वास छ ।

अस्पतालबाट छिट्टै संक्रमण फैलन सक्ने सम्भावना औल्याउदै उनी भन्छन्– तसर्थ गम्भीर स्वास्थ्य संकट भए बाहेकका संक्रमितलाई समेत सुरक्षित रहन सिकाउँदै घरमा राख्नु उचित हुन्छ । बरु उनीहरुको निरन्तर फलोअपको व्यवस्था गर्न सकिन्छ ।

संक्रमितलाई टिप्सहरु दिँदै डा. खरेल भन्छन्– सेल्फ आईसोलेसनमा बस्ने, बिरामीले प्रयोग गरेका सामग्री अरुले प्रयोग नगर्ने, बिरामीले छोएको वस्तु अरुले नछुने र पटक पटक साबुन पानीले हात सफा गरिरहने । क्वारेन्टीनमा रहेका संक्रमित मानसिक र शारीरिक रुपमा स्वस्थ्य रहन जरुरी हुन्छ । त्यसका लागि नियमित योगा र व्यायाम गर्ने ।

बिरामीबाट अरु कसरी जोगिने त ? डा. खरेलको सुझाव छ– बिरामीबाट २ मिटर टाढा रहने । मास्कको प्रयोग गर्ने । मास्क लगाउँदा झन्झट लाग्छ । तर यो अनिवार्य यसकारण छ कि हाम्रो हातले १ घण्टामा करिब २० पटक मुखमा छुन चाहन्छ । यो तथ्यप्रति सचेत हुनु पर्दछ ।
डरलाग्दो तथ्य चाहिँ के हो भने कोभिड–१९ ले छोएका २५-५० प्रतिशत मानिसलाई  कुनै लक्षणनै देखिदैन । डा. खरेल भन्छन्– त्यही कारण सामाजीक दुरी कायम गर्न र नियमित हात धुन सुझाइएको हो ।

यो त भयो संक्रमितलाई जोगाउने उपाय । डा. खरेल चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा टिप्स यसरी दिन्छन्– पर्याप्त मास्क, पिपिईको प्रयोग ।
तर कोरोना संक्रमित बढेसँगै अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच कुराकानी र भेटघाट हुन छोडेको छ । यसले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न मद्दत त गरेको छ, तर केही तनाव थपिदिएको छ ।

‘पहिला त सँगै सिफ्टमा काम गर्ने साथीहरुसँग आफ्ना कुरा सेयर गरेर मन हल्का पारिन्थ्यो, अहिले त्यो बन्द भएको छ’ डा. खरेलले अस्पतालको चिकित्सा सेवामा आएको बदलाव सुनाए ।

उसो त अमेरिकामा घरपरिवारसँग बस्ने स्वास्थ्यकर्मीहरु गाडीमा पिपिई राख्छन्, घरबाट अस्पताल निस्केपछि गाडीमै पिपिई लगाउँछन् र अस्पताल छिर्छन् । अस्पतालबाट घर फर्कदा पनि गाडीमै कपडा फेर्छन ।

नेपाल र अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई हेर्ने दृष्टिकोण भने फरक छ । ‘नेपालमा घरबेटीले स्वास्थ्यकर्मीलाई डेरा सरेर जान दबाब दिएको सुन्छु, अमेरिकामा भने सिंगो समाज स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोगी बनिदिएको छ’ डा. खरेलले भने । ‘त्यतिमात्र होइन, हरेक दिन साँझ ८ बजेपछि यहाँका सम्पुर्ण टोलबासीले ३० मिनेट जति ताली बजाएर हामीलाई आत्मबल र हौसला दिइन्छ’ उनी भन्छन् ।

भलै अमेरिकामा पनि संक्रमण सर्ला भनेर चिकित्सक भेट्न डराउने मान्छे नभएका होइनन् । ‘तर, जहाँसुकै किन नहोस् कोरोनाविरुद्धको युद्धको फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीलाई सकारात्मक दृष्टिकोण राखेर समाजले आत्मबल प्रदान गर्नुपर्दछ’ उनले भने ।

चिकित्सक वा स्वास्थ्यकर्मी भन्दैमा मास्क, पिपिईलगायत स्वास्थ्य सामग्री उपयोग गर्न जान्दछन् भन्ने हुँदैन । उनीहरुलाई सामग्री उपलब्ध गराएरमात्र हुँदैन, निरन्तर प्रयोगको तरिका सिकाउनु पर्दछ ।

‘म पनि एक वा दुई हप्तामा अस्पतालले दिने तालिममा सहभागी हुन्छु’ उनले भने । डा. खरेलले रोचक तथ्यहरु सुनाउने क्रममा भने– निरन्तर एन–९५ मास्क लगाउँदा घर फर्कदा त नाकमा घाउनै हुन्छ । तनाव त भइनै रहन्छ । यसको व्यवस्थापनका लागि तालिम उपयुक्त विधि हो’ उनले भने ।

कोरोना संक्रमणको मृत्यु दर २/३ प्रतिशतमात्र छ । तर संक्रमितलाई अन्य रोगले समात्न सक्ने भएकाले आइसोलेटेट हुनुपर्छ । ‘कोरोना संक्रमितको उपचारका लागि औषधि बन्न धेरै समय लाग्ने भएकाले सुरक्षाको उपाय अबलम्बन नै अन्तिम विकल्प हो’ उनले भने ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...