१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेटफ्लिक्स ट्रेन्डिङमा आलियाको ‘डार्लिङ्ग्स’, दुई दिनमै १ करोड घण्टा हेरियो


4.264k
Shares

एजेन्सी । घरेलु हिंसा हाँसोको विषय होइन, तर यसै विषयमा नेटफ्लिक्समा एउटा डार्क कमेडी फिल्मले यतिबेला भारतीय दर्शकलाई लोभ्याएको छ ।

बलिउड अभिनेत्री आलिया भट्ट, शेफाली शाह र विजय वर्माको मुख्य भूमिका रहेको फिल्म ‘डार्लिंग्स’ एक युवा मुस्लिम जोडीको प्रेम, हिंसा र बदलाको कथा हो ।

फिल्ममा दुई प्रेमीहरू बदरुनिसा (आलिया भट्ट) र हमजा (विजय वर्मा)बीचको प्रेमबाट सुरु हुन्छ । प्रेमपछि उनीहरूको विवाह पनि खुसीसाथ नै हुन्छ तर त्यसपछिको कहानी भने सुःखद् हुँदैन ।

विवाहको तीन वर्षपछि उनीहरूले एक निम्न मध्यमबर्गीय आवासमा घर बनाउने विषयमा विवाद हुन्छ । त्यहि विषयमा हमजाले श्रीमतीलाई दुर्व्यवहार गर्न थाल्छ ।

उ हरेक रात आफ्नी श्रीमतीलाई गाली गर्दै कुट्छ र विहान माफी माग्छ । आफूले प्रेम भएकाले बदरुनिसालाई कुटेको हमजा तर्क गर्छ । बदरुनिसा पनि हमजाले मदिरा पिउन छोडेपछि वा बच्चाका कारण पनि आफूहरूको सम्बन्ध सुमधुर हुने आशा राख्छिन् ।

तर, हिंसा घट्ने होइन, बढ्दै जान्छ । हमजाले अत्याचारले सीमा पार गर्छन् । त्यसपछि बदरुनिसाले आफूविरुद्ध भइरहेको हिंसाविरुद्ध बदला लिने योजना बनाउँछिन् । आमाको मद्दतले श्रीमानलाई घरभित्रै कैद गर्छिन् र आफूलाई श्रीमानले गरेको अत्याचारको बदला श्रीमानले आफूमाथि गरेको जसरी नै लिन्छिन् ।

जसमित कुमार रिनको निर्देशन गरेको फिल्मलाई जसमित र परवेज शेखले लेखेका हुन् । एक साताअघि नेटफ्लिक्समा विश्वव्यापी रूपमा रिलिज भएको फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

अहिले ट्रेन्डिङमा रहेको फिल्मले भारतमा मात्र नभएर धेरै देशहरूमा पनि राम्रो प्रतिक्रिया पाएको छ । फिल्म युएइर्ए, सिंगापुर, मलेसिया, केन्या, अमेरिकी, अफ्रिकी र एशियाका १६ देशमा शीर्ष १० स्थानमा चलिरहेको छ ।

नेटफ्लिक्सका अनुसार ‘डार्लिङ्ग्स’ एक मात्र गैर–अंग्रेजी भारतीय फिल्म हो, जसले अहिलेसम्मको सबैभन्दा बढी ग्लोबल ओपनिङ गरेको छ । दर्शकले फिल्मका लागि गएको शनिबार र आइतबार मात्रै १ करोड घण्टाभन्दा बढी समय खर्च गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा प्रत्येक तीनमध्ये एक महिलाले लिङ्गको आधारमा नजिकका मान्छेबाट नै हिंसाको सामना गर्नुपरेको छ । भारतमा पनि यो संख्या उच्च छ । सन् २०२० मा भारतमा १ लाख १२ हजार २ सय ९२ महिला हिंसाको उजुरी परेको थियो ।

यसरी हेर्दा हरेक पाँच मिनेटमा एउटा घटना भइरहेको छ । तर यो उजुरी परेका घटनाहरू मात्र हुन् । यी बाहेकका लाखौं घटना घरको चार कुनाभित्र नै दब्ने गरेको त्यहाँका सरकारी अधिकारीहरू बताउँछन् ।

शाहरूख खानको रेड चिली प्रोडक्सन हाउस र आलियाको सनशाइन प्रोडक्सन हाउसले संयुक्त रूपमा निर्माण गरेको फिल्मबाट आलियाले निर्माताको रूपमा डेब्यू गरेकी छन् । आलियाले निर्माणमा गौरी खान र गौरव वर्मासँग सहकार्य गरेकी हुन् ।