
काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ ।
खेल आगामी नोभेम्बर २० मा उद्घाटन हुने छ । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।
यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ ।
आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।
उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिबाट गृहकार्य सुरु गरेको थियो । कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।
कतार विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्