
एजेन्सी । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ ११ अगस्टबाट रिलिज भइसकेको छ । एकातिर भारतका केही ठाउँहरूमा फिल्मको बहिष्कारको माग भइरहेका बेला पाकिस्तानमा रिलिजको माग हुन थालेको छ ।
पाकिस्तानको सिनेप्याक्स मिडिया ग्रुपले चलचित्र प्रदर्शनका लागि सूचना मन्त्रालयसँग एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) मागेको छ । भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ पछि एनओसी पाएमा पहिलो पटक कुनै भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ ।
पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस्तानी अभिनेता र फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ फेब्रुअरी २६ मा भारत तर्फबाट जवाफमा बालाकोटमा एयर स्ट्राइक भएपछि पाकिस्तानमा पनि भारतीय फिल्ममा प्रतिबन्ध लगाइएको थियो ।
एक्सप्रेस ट्रिब्युनलसँग कुरा गर्दै सिनेप्याक्स मिडिया ग्रुपका महाप्रबन्धक साद बागले भने, ‘हामीले सूचना मन्त्रालयमा एनओसीको लागि निवेदन दिएका छौं । एनओसी पाए ‘लाल सिंह चड्डा’ पाकिस्तानमा रिलिज हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्