
-संजिव कार्की
प्रिय प्रधानमन्त्रीज्यूलाई आफ्नो बोली र टिप्पणी स्मरण गराउँदै प्रशंसासहित धन्यवाद व्यक्त गर्दछु । मलाई मिडियाले साथ दिएनन् , रैतीले मेरो पक्षमा बोलेनेन् , आफ्नै पार्टीका कमरेडहरु र लाल योद्दाहरुले पनि चाहेजति र सोचेजति पक्षधरता देखाएनन मप्रति प्रायजसो पूर्वाग्रही रहे ।
प्रिय प्रधानमन्त्री ज्यू, आज हेर्नुस को तपाईको पक्षमा र तपाईले लिनु भएको अडान र देशभक्तिको तारिफ गर्दैन र ? केही अपवादलाई छोडेर देश एक ढिक्का छ तपाईको पक्षमा तारिफ र प्रशंसामा रमेको रमाएको छ । जबकी तपाईको यो गणतन्त्रले विस्थापित गरेको शक्ति पूर्वराजा समेतले बिना संकोच तपाईको प्रसंशा गर्ने उदारता देखाएका छन् । यही होइन र प्रशंसा ? स्याबास प्रधानमन्त्री ज्यू , वल डन ।
नाकाबन्दीको बेलाको प्रशंसा पनि जनताले गुण मानेर तपाईको नेतृत्वको बाम गठबन्धनलाई जिताएर पुरस्कृत गरेका हुन । राम्रो कामको लागि प्रशंसा हुन्छ नकि नकामको ? तपाईलाई लाग्दो हो मेरा हर काम जायज छन् , न्यायोचित छन् , प्रासंगिक छन् त्यसैले म हरदम प्रशंसाको भागीदार छु । यदि यही सोचाई हो भने त्यो गलत र आत्मवादी, मनोगत र निजी सोचाई मात्रै हो । मार्क्सवाद बस्तुनिस्ठ र सत्यको साक्षत्कार रुचाउँछ, रियालास्टिक बन्न भन्छ, आत्मगत र मनोगत धारणालाई अस्वीकार गर्छ । म तपाईलाई मार्क्सवादी चिन्तन र दर्शन पढाउने हैसियत राख्दिन केवल सम्झाउन चाहेको हुँ । कामको लागि प्रशंसा, तारिफ र चाकरीको थुप्रोले पुनः एकपटक तपाई पुरिनु भएको छ । आफ्नो जीवनकालको उत्कर्ष शायद यही हो । तपाईलाई आफ्नो जीवन र देशको माया आत्मबोध भएको छ । तपाईको ब्रम्हले सत्यको स्पर्श गर्दै गरेको र आफ्नो सीमा र समयको बोध गरेको छ भन्ने मलाई लागेको छ ।
सबै मान्छे सबै गुणले भरिपूर्ण हुन्नन तपाई पनि मान्छे हो कमजोरी प्रशस्तै गर्नु भएको छ । तपाईको शासकीय क्षमतामा अनगिन्ती प्रश्नहरु उठेका छन् । यद्यपी, तपाईले आज जे गर्नु भयो, देशको पक्षमा जुन अडान लिनुभयो र साहस प्रदर्शन गर्नुभयो यो आजसम्मकै उच्चकोटीको पर्फर्मेन्स हो । साहस प्रदर्शन गर्न जहिल्यै साइत हुन्छ । असहज र संकट देखाएर भाग्ने गर्नु भएन यो सबैभन्दा तारिफयोग्य र स्वागतयोग्य कदम हो । जसको लागि तपाई सदा स्मरणीय र अमर रहनुहुनेछ । देशभक्त भीमसेन थापा, भक्ति थापा अमर सिंह थापा, बलभद्र कुंवर जस्तै तपाईको नाम इतिहासमा लेखिने दिन आउने छ ।
आज तपाईको प्रशंसा गर्दागर्दै मलाई निरङ्कुश भनिएका राजा महेन्द्रको देशभक्तिको पनि गुण गाउने रहर जाग्यो । कति मुश्किल, कहर र कठिन राज्य संचालनको अभिभारा र भारतीय दादागिरीको चरम अवस्थामा पनि महेन्द्रले नेपालमा स्थापित पुर्वदेखि पश्चिमसम्मको नेपालभित्र अड्डा जमाएर बसेको सैनिक पोष्ट १८ मध्ये १७ लाई हटाउनु के सामान्य साहस र थोरै हिम्मतले काम गरेको थियो होला र ? आज वर्तमानमा ओलीको जय गाउँदा राजा महेन्द्रको जय गाउन किन बिर्सने ? तात्कालिन चेतनामा पनि आफ्नो देशलाई परचक्रीको थिचोमिचो कति अप्रिय थियो हामीले बुढा भक्ति थापा लगायतको त्याग, उर्जा र निष्ठालाई नेपाल रहे सम्म भुल्न सक्दैनौ ।
इतिहासदेखि वर्तमानसम्म सबै घटनाक्रम र त्याग बलिदानलाई बस्तुपरक भएर विवेचन गर्नुपर्छ । त्यसैले राजादेखि रैतीसम्म समाजवादीदेखि गणतन्त्रवादीसम्म सबैको आफ्ना देशप्रतिको लगानी र गद्दारी दुवै छ । गद्दारहरु निन्दित रहन्छन । देशभक्तहरु प्रशंसित । चाहे ती राजा हुन या प्रजा । लोकतान्त्रिक गणतन्त्रको नागरिकको हैसियतले म आज इतिहास तिर फर्केर महेन्द्रको देशभक्तिलाई त्यतिनै सम्मान र सलाम गर्छु । जति बीपीले सगरमाथा हाम्रो भनेर चीनसँग कुटनितिक लडाई गरे र राजनीतिक नेतृत्व आफुले गरे ।
आज ओलीले पनि जुन साहस देखाउनुभएको छ त्यो साहसले यो दुई वर्षभित्र प्रदर्शित निकम्मा अरु शासकीय क्षमता ओझेलमा पारेर देसभक्त, राष्ट्रवादी नेताको छवि उजिल्याएको छ । तपाईले भन्दै आउनु भएको यो मर्मस्पर्शी भनाइ आज हर नागरिकको दिलमा बसेको छ । ‘देशको भूगोल सानो ठूलो होला, देश धनी गरिब हुन्छन र छन तर देशको सार्वभौमसत्ता, स्वाभिमान ठूलो सानो हुँदैन । बराबरी हुन्छ ।’ न हाम्रो भारत भन्दा सानो छ न, चीनभन्दा सानो न ,भुटानभन्दा हाम्रो सार्वभौम सत्ता ठूलो छ ? संसारमा जतिपनि देशहरु छन ती सबैको हैसियत कसैको भन्दा कम–बढी छैन सार्वभौम अधिकारको मामलामा ।
प्रधानमन्त्री ज्यू ,
म तपाईलाई कांग्रेस युवा नेता चन्द्र भण्डारीको सार्वजनिक संजालमा पोष्ट भएको भनाइ जस्ताको तस्तै राखेर मनन गर्छ अनुरोध गर्दछु । भण्डारी लेख्छन “सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नक्शा पारित गरेर प्रकाशित गरेको खबरले हर्षित छु । देशको हितमा बोल्दा बिपी कोइरालाको सरकार अपदस्त भयो, कृष्णप्रसाद आश्रममा बस्नपर्यो ,राष्ट्रवादी बन्न कति कठिन छ यो देशमा । मैंले पनि अनुभूत गरेको छु । पहिलोपटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्रीज्यू , तपाई र मेरो सैद्दान्तिक धरातल फरक हो तर नेपाल आमा एकै हुन् । खुट्टा नकमाउनु होला । भ्रष्टाचारीलाई पनि नछोडनु होला ।’’ यो अरु विपक्षीहरुको प्रतिनिधि भनाइ हो । तपाईको यो कदमको प्रशंसा नगर्ने कोही छैनन् । ओलीको नक्कली राष्ट्रवाद सक्कली हो भने ‘लु देखाऊ’ भनेर च्यालेन्ज गर्ने , खबरदारी गर्नेहरु पनि यो साहस र कदमको प्रसंसक हुन । खबरदारी, घोचपेच सबै तपाईले नेतृत्व लिनुपर्छ भन्ने ध्येयको खातिर हो भन्ने मेरो बुझाई छ । कारण आमाको माया नगर्ने सन्तान अपवादमा पनि हुँदैन भन्ने मलाई लाग्छ ।
प्रधानमन्त्री ज्यू ,
तपाई आज अजंगको बाघमा चढ्नु भएको छ । त्यो चानचुने र खुद्रा हिम्मतले पुग्दैन । अब सवाल बाघमाथि चढ्नु मात्रै होइन सुरक्षित ओर्लनु र सकुशल रहनु पनि उत्तिकै चुनौतीपूर्ण छ । बाघको जगर समाएर चढ्ने हिम्मत हुनेको सुरक्षित अवतरण गर्ने ल्याकत पनि पक्कै छ । हामी सबै नेपाली प्रधानमन्त्रीको सुरक्षित अवतरणको लागि जे गर्नुपर्ने हो त्यो गर्न तम्तयार छौं । हिम्मतमा कमि नहोस ।
प्रधानमन्त्री ज्यू,
तपाई यस्तो हिम्मत गर्नुस जसको परिणाम जे पनि हुनसक्छ । अब देखवा राष्ट्रवाद कस्तो हुन्छ र सही र मुटु देखिको माटोको माया कस्तो हुन्छ त्यो देखाउने र प्रमाणित गर्ने बेला हो । देखवा राष्ट्रवाद त्यो हो जुन बेलाबेला भद्दा मजाकमा देखिन्छ । जस्तो तत्कालिन मालेले बामदेवको निर्देशनमा कालापानी मार्च पास गर्यो तर नेपालको सिमाना पुग्ने हिम्मत गरेन । लिम्पियाधुरा पुग्नु पर्ने कमरेडहरू कालापानी भन्दा निकै वर नेपाली झण्डा गाडेर फर्कियो । जसलाई म देखवा राष्ट्रवाद भन्छु । यदि राष्ट्रको मायाले रगत उम्लिएको हो भने भारतीय अवरोध छिचोलेर सीमामा झण्डा गाडने साहस प्रदर्शन गर्नु पर्दथ्यो । तातो रगत पारी सेना देखेर वारी नै चिसिनु हुन्थेंन । जुन नितान्त गलत हो । झन्डा बोकेर गएपछि सीमा भन्दा वर नै झन्डा गाड्नु एकदम गलत कुरा थियो । सकिन्छ सीमामा पुग्ने, सकिन्न जहाँ आफ्नो लागि अनुकुल हुन्छ त्यही झण्डा गाड्नु आफ्नो भूमिको सिमांकन त्यहिँ हो भन्ने देखाउनु हो राष्ट्रघात गर्नु हो । गोली हान्थ्यो भने खाने हिम्मत गर्नु पर्थ्यो होइन भने त्यो राष्ट्रवादी नाटक व्यर्थ हो ।
देशको माया छ भन्ने तर मर्न डराउने यो हुन सक्दैन । यदि त्यतिबेला नै दुई चार जना मर्ने हिम्मत गरेको भए यो समस्या आजसम्म समाधान भै सक्थ्यो । विश्वको ध्यान पुग्थ्यो केही क्षति हुन्थ्यो होला तर उपलब्धिको लागि आज तपाईको नेतृत्वमा संघर्ष गर्नु पर्दैनथ्यो । जे होस यो महा अभियानको नेतृत्व तपाईको काँधको लागि जुरेको संयोग हो अब वार कि पार गर्नुपर्छ । १९५० को असमान शान्ति तथा मैत्री सन्धिको पनि पुनरावलोकन गरेर नयाँ आयाम र मान्यता नवीन चेतनाको विकास र समयको माग अनुसार गर्न अग्रसरता लिनुपर्छ । बिरालाको घाँटीमा घन्टी झुण्ड्याइ सकेपछि अब पछि हटने परिस्थिति छैन । उपलब्धि फराकिलो पार्ने हाम्रो हकदावी अनुसार प्रमाण र आधार पेस गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय अभ्यास र अवस्था पनि हेरेर नयाँ सन्धि गर्नुपर्छ । अपहरित नेपाली आमाको फोटो प्रदर्शन र चित्र बनाएर होइन हराएको सूचना मात्रै पनि होइन । अब हाम्री नेपाल आमा सकुशल आफ्नो घरको छानोमा ल्याउने सबल प्रयत्न गर्नुपर्छ । अपहरणकारीले गलत आरोप र मिथ्या तर्क गरेको कृतिम आरोप भनेर प्रतिवाद गरेको सुनिदैछ । अपहरणकारी कति लाछी र डरपोक छ भन्ने कुरा कलाकार मनिषा कोइरालाले गरेको ट्वीट र रि ट्वीटसँग तर्सेर मनिषालाई गरेको विष बमनबाट बुझ्न सकिन्छ ।
आम नेपाली यतिबेला आन्तरिक रिष राग, द्वैस त्यागेर नेपाल आमाको अपहरण गर्ने बिरुद्द एकजुट हुनेछौं । तपाई देशको नेता हो राजनेता र महान नेता बन्ने दिन आएको छ । अब प्रमाणित गरेर देखाउन अरु बलियो र झरिलो बन्नुस । देश जसरी लडने हो त्यो गर्न तयार छ । नक्सा छाप्नु कुन ठूलो कुरा हो र ? नक्शा जसले छापे पनि हुन्छ भन्ने भनाइको पुष्टी मात्रै नहोस अब हामीलाई हाम्रो जमिन चाहिन्छ तपाई भुमिफिर्ता लिने अभियानबाट अलिकति किन्चित पनि ब्याक हुन पाउनुहुन्न । १४७१८१ बर्ग किलो मिटरबाट हाम्रो नक्शामा अब ३३५ भुमि बढेर देशको कुल क्षेत्रफल १४७५१६ बनेर सन् १८१६ मार्च ४ को सुगौली सन्धी बमोजिम हुनु अत्याधिक खुशीको कुरा हो । अब हाम्रो भूमिमा अन्य देशका सेनाको उपस्थिति र क्याम्प बर्जित र अस्वीकार्य हुनुपर्छ । त्यो दिन देख्न र दीप प्रज्वलीत गरि खुशीयाली मनाउन, हर्ष बढाइ गर्न सारा नेपाली आँतुर र उत्सुक छौं ।
हाम्रो सार्वभौम सत्ता भौगोलिक अखण्डता र अविभाज्यता प्रत्याभूति दिने काम कुन माध्यम प्रयोग गरेर कुटनीतिक, राजनीतिक या अरु अन्तर्राष्ट्रिय करण गरेर संयुक्त राष्ट्र संघको सहायता र मध्यस्थता के गर्नुपर्ने हो जनताको म्यान्डेट छ सदुपयोग गर्नुपर्छ । कम्तीमा नक्शा प्रकाशित गर्यौ यो हिम्मत अरुले गर्न सकेका थिएनन् ।हामीले गर्यौ मात्रै भनेर बस्ने र चित्त बुझाउने छूट यति बलियो सरकारलाई नभएको सचेत गराउन चाहन्छु । भावना र कुटनीति फरक-फरक कुरा हुन भावनात्मक सम्बोधन भयो अब कुटनीतिक र ब्यबहारिक सम्बोधन मार्फत नेपाली नक्साको अभिलेखलाई भुमि रक्षामा परिणत गर्नु जरुरी छ ।
प्रधानमन्त्रीको सक्रियता तदारुकताका र जोशलाई अरु ताजगीकरण गर्न जनताको साथ र आशिर्बाद रहेको तथ्य राख्दै प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै यो आलेखको बिट मार्दछु । प्रधानमन्त्री ज्यू म आलोचनात्मक चेतसहित प्रशंसा र आलोचना गर्छु । अन्धभक्त र तपाईले जे गरे पनि अब ठिक हुन्छ देशभक्तिको अभियन्ताले गरेका हर कुरा जायज र तार्किक म मान्दिन । बरु सत्य र निष्ठाको आलोकमा त्यसको न्यायिक निरुपण र बौद्धिक र बिबेक सम्मत तर्क गर्न रुचाउँछु । तपाईको जय सत्य निष्ठा र न्यायको लागि गर्नेछु अरु प्रपन्च , झेल र सतही डेमोस्ट्रेसनको लागि हुनेछैन । गम्भीर अस्वस्थता र संकटका बाबजुद देशभक्तिको जुन लडाई आज लडन तयार हुनुहुन्छ यो अत्यन्तै सह्रानीय छ । पुनः सलाम प्रधानमन्त्री ज्यू, जय नेपाल ।
प्रतिक्रिया दिनुहोस्