
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ ।
आज शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गर्नुभयो ।
स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै उहाँले स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताउनुभयो । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने दाबी गर्नुभयो ।
उहाँले सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनु भयो ।
स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्