
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षलाई खबरदारी गराउनुभएको छ ।
आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गर्नुभएको हो ।
केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभई अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताउनुभयो ।
उहाँले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्य केसीले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने समेत चेतावनी दिनुभयो ।
उहाँले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्