
सन्दीप श्रेष्ठ
काठमाडौं । उपत्यकामा फोहोर व्यवस्थापन विकराल भएको छ । सडकछेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै भएको छ । यसले उपत्यकालाई दुर्गन्धित बनाउनुको साथै महामारीको जोखिम पनि बढाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ ।
केन्द्रीय राजधानी समेत रहेको काठमाडौंलाई सुन्दर बनाउने नारा लगाउन सायद कुनै पार्टी वा नेतृत्वले छाडेको छैन । गएको स्थानीय तह निर्वाचनमा पनि फोहोरको मुद्दालाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले काठमाडौं महानगरको मेयर जिते ।
आफू नेतृत्वमा गएपछि उपत्यकाको फोहारलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने बाचा गरेका साह निर्वाचित भएको तीन महिना पुग्नै लाग्दा समस्या झन विकराल बन्दै गएको छ ।
साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै दिन उठाउने निर्णय गरेको काठमाडौं महानगरले २८ दिन बित्दा पनि फोहोर उठाउन सकेको छैन । जसका कारण फाहोरको दुर्गन्धले मानव स्वास्थ्यमा असर त पुर्याएको छ ।
बजारमा उपभोक्ताको चहलपहल सुरु हुने सिजनमा छेवैमा थुप्रिएको फोहारका कारण व्यापारमा कमी आएको गुनासो व्यापारीको छ ।
सडक वरपर मात्र हैन । उपत्यकामा चल्ने सार्वजनिक यातायातको पार्किङ स्थलमा पनि फोहोरको थुप्रो लाग्दा ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको ट्राफिक प्रहरीको गुनासो छ ।
उपत्यकामा दैनिक १ हजार मेट्रिक टन भन्दा धेरै फोहोर उत्पादन हुन्छ । अझ चाड पर्व र जात्राको सिजनमा उपत्यकामा फाहोरको मात्रा अन्य समयको भन्दा धेरै हुन्छ ।
दिनँहु बढ्दै गएको फोहोरको व्यवस्थापन हुन नसक्दा मानव स्वास्थ्यमा असर त गरेको छ नै मुख्य पर्यटकीय सिजन आउँनै लाग्दा व्यवसायलाई पनि गम्भीर असर पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्