१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने मन्त्री राईको चेतावनी


325
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

वीरगञ्जमा शनिबार तिलावे पुलको उद्घाटन गर्दै उहाँले वडाअध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयो । जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार गर्नु’ नै ठीक हुने उहाँले बताउनुभयो ।

जिम्मेवारी लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी मन्त्री राईको छ । मुद्दा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने मन्त्री राईको भनाइ छ ।

आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको दाबी उहाँको छ । उहाँले सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो ।

वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथअन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्ड मर्मत गर्नेलगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुभयो ।