
झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाइसक्नुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
नेता खनालले २०६२/०६३ को क्रान्तिका बहाक शक्तिहरू भएकाले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने तर पाँच दलीय गठबन्धनमा अन्य पार्टी समावेशको लागि बाटो खुल्ला रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आगामी मंसिर चार गते हुने निर्वाचन देश र आफ्नो भविष्य बनाउने सुन्दर अवसर भएको बताउनुभयो ।
देश निर्माणको लागि संविधानले परिलक्षित गरेको मूल मन्त्रलाई स्वस्थ्य जनमत तयार गरेर निर्वाचनमा जुट्नुपर्ने नेता खनालको भनाइ छ । अबको निर्वाचनमा पार्टीसँगै सही उम्मेदवारको छनोट मतदाताले गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्