१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चर्चित लेखक सलमानको स्वास्थ्य अवस्था नाजुक

सलमानमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइयाे

832
Shares

काठमाडौं । विश्व चर्चित लेखक सलमान रुस्दीकाे स्वास्थ्य अवस्था नाजुक रहेकाे छ ।

लेखक सलमानलाई छुरा प्रहार गर्ने व्यक्तिविरुद्ध हत्या प्रयासको अभियोगमा मुद्दा चलाइको छ। न्यायाधिवक्ताको कार्यालयलले न्यु जर्सीका २४ वर्षीय हादी माटरविरुद्ध हत्या प्रयासको अभियोगमा मुद्दा चलाएको हो । न्यूयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका लेखक सलमानको अहिले भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ ।

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुस्लिम समुदायको अपमान गरेको आरोप लगाउँदै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए । आफूमाथि आक्रमण हुन सक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका लेखक सलमान र उनका सहयोगीमाथि न्यूयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टर मार्फत अस्पताल लगेर आकस्मिक शल्यक्रिया गरिएको छ । लेखक सलमानको उपचारमा संलग्न चिकित्सकका अनुसार लेखक सलमान अहिले बोल्न सक्ने अवस्थामा छैनन् र उनको एउटा आँखाको ज्योति गुम्न सक्ने देखिएको छ । लेखक सलमानकोे पाखुराका नसाहरू काटिएका छन् भने छुरा प्रहारका कारण कलेजोमा गम्भीर चोट लागेको छ ।

आक्रमणकारी रुस्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए । स्टेजमा लेखक सलमानको अन्तर्वार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रिजको अनुहारमा पनि चोट लागेको थियो । तर, उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यु जर्सीको फेयरफिल्डका २४ वर्षीय हादी माटर भएको जनाएको छ । तर माटरले भने अदालतमा उपस्थित हुँदा आफूले आक्रमण नगरेको बयान दिएका छन् ।