१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रवासी नेपालीलाई लिङ्देनको आग्रह : ‘निर्वाचनमा स्वदेश आउनुस्’


351
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई आग्रह गर्नु भएको छ ।

पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै निर्वाचनको बेला भोट हाल्न नेपाल आउन आग्रह गर्नुभएको हो ।

उहाँले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रुपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिनुभएको छ ।

अध्यक्ष लिङ्देनले प्रवासमा रहेका पानस आबद्ध साथीहरूलाई पार्टीको पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपूर सदुपयोग गर्न, आक्रामक ढंगबाट संगठन विस्तार गर्न, निर्वाचनको बेला संगठित रुपमै स्वदेश आउने तालिका बनाउन र प्रभावकारी रुपले चुनावी अभियानमा होमिन समेत आग्रह गर्नुभएको छ ।

‘राप्रपाका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठ, सहायक महामन्त्री बिजय खड्का, पानस आइसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, आइसिसीका पदाधिकारी तथा सल्लाहकारहरु, विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।