१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन


260
Shares

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ ।

शनिबार राति मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिनुभएको थियो ।

थिमिको तत्कालीन दरवारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ । ने.सं. ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुवात गरेका हुन् ।

किंवदन्ती अनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरुले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा ५ देवगणहरुको सहभागिता रहन्छ ।

तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पुर्‍याइन्छ ।

उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गर्नुभएको थियो ।

गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ ।

लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा, भस्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भएको छ ।