९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतका शेयर बजारका बादशाह राकेश झुन्झुनवालाको निधन


3.484k
Shares

काठमाडौं । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आज (आइतबार) बिहान निधन भएको छ ।

दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । आइतबार बिहान स्थानी समय अनुसार पौने ७ बजे मुम्बइको ब्रीच क्यान्डी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित रहेका झुन्झुनवाला केही साता अघि उपचार गरी अस्पतालबाट डिस्चार्ज भएका थिए। चार्टर्ड अकाउन्टेन्ट समेत रहेका झुन्झुनवाल ५ हजार रुपैयाँको लगानीबाट शेयर बजारमा प्रवेश गरेर ४० हजार करोड रुपैयाँको पोर्टफोलियो बनाएका थिए ।

विश्वका ४ सय ४०औं स्थानका धनाढ्य मध्ये झुन्झुनवाला भारतीय धनाढ्यहरुको सूचीमा ३६औं नम्बरमा रहेका छन् । हंगामा डिजिटल मिडिया र एप्टेकको अध्यक्ष रहेका झुन्झुनवाला भाइसरोय होटल्स, कन्कर्ड बायोटेक, प्रोभोग इन्डिया र जिओजित फाइनान्सियल सर्भिसेसका निर्देशक पनि थिए ।

पछिल्लो समय उनले गत महिना आकाश एअर सुरु गरेका थिए । उनको सम्पतिको नेटवर्थ करिब ६ अर्ब डलर हाराहारी रहेको छ । झुुन्झुनवालाको निधनमा शोक ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशले अदम्य साहसिलो उद्यमी गुमाएको बताउनुभएको छ ।